इसेवाको सीइओमा जगदीश खड्का नियुक्त

काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त भएका छन्। चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालक समितिले सीइओमा नियुक्त गरेको हो । संस्थाका अध्यक्ष परशुराम कुँवर क्षेत्रीले पद तथा गोपनीयताको सपथ गराएपछि खड्काले आज आफ्नो कार्यभार सम्हालेको इसेवाले वताएकाे छ । बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा खड्कासँग १२ वर्षभन्दा बढीको अनुभव रहेकाे कम्पनीले वताएकाे छ। सीइओको जिम्मेवारी पाउनुभन्दा अगाडि उनी एफवान सफ्ट ग्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा निर्देशक थिए।

संस्थाकाे सञ्चालक समितिले निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटालाई धन्यवाद भनेकाे छ। उनले सीइओ पदबाट दिएको राजीनामा कम्पनी सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवाको सञ्जालमा अहिलेसम्म ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिनेछ। मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६५ लाखभन्दा बढी रहेकाे छ।यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् भने इसेवाका देशभरी करिब १ लाख ५० हजार एजेन्ट छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री