मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत मात्र

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा कूल उम्मेदवारमध्ये पुरुषको तुलनामा महिलाको उम्मेदवारी कम अर्थात् १० प्रतिशत मात्र रहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटाैंडाका अनुसार विभिन्न राजनीतिक दलबाट र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दिएकामध्ये सात जना महिलाले मात्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएका महिलामध्ये दुई जना महिला राजनीतिक दलबाट र पाँच जना महिला स्वतन्त्रबाट रहेको सो कार्यालयले जनाएको छ। प्रतिनिधिसभाका लागि एक जना र प्रदेशसभाका लागि छ जना महिलाले उम्मेदवारी दिएका हुन्।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा मकवानपुरको निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेत्री महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी रहेको छ। त्यस्तै प्रदेशसभामा मकवानपुर निर्वाचन क्षेत्र नं २ (क)बाट माओवादी केन्द्रबाट कुमारी मोक्तानले उम्मेदवारी दिएको बुझिएको छ।

अन्य स्वतन्त्र उम्मेदवारमा लक्ष्मी गुरुङ, निर्मला गौतम, कमला गौतम, लक्ष्मी अधिकारी लामिछाने र शान्ति दाहालले उम्मेदवारी दिएको सो कार्यालयबाट जनाइएको छ । स्वतन्त्र मकवानपुर निर्वाचन क्षेत्र नं २ को (ख) बाट उम्मेदवारी दिएर प्रतिस्पर्धामा रहेका छन् ।

कार्यालयका अनुसार मकवानपुर जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै मकवानपुरको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा एक जना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका हुन्।

उता प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्रमा ४३ जनाले उम्मेदवारी दिएको छ। जसमा १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। गठबन्धनका कारण महिलाको उम्मेदवारी कम भएको आरोप लगाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री