बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका छन् । सत्ता साझेदार गठबन्धनले केसीलाई उम्मेदवार बनाएको हो ।
उनले आइतबार साढे ४ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि केसीले २०७२ सालको संविधान जोगाउन बुढेसकालमा निर्वाचन लड्नु परेको प्रतिक्रिया दिए । ‘म तन्नेरी भएर चुनाव लडेको होइन, तर संविधान, धर्म निरपेक्षता र गणतन्त्रमाथि आइपरेको संकटका कारण मैले उम्मेदवारी दिएको हुँ’ केसीले भने, ‘गणतन्त्रमाथि बादल लागेकाले संविधान जोगाउनेहरूको गठबन्धन गर्नु परेको हो ।’
यसअघि पटक पटक एमालेसँगको तालमेलमा निर्वाचन लडेको राजमोले यसपटक कांग्रेस र माओवादीसँग गठबन्धन गरेको छ । केसीले धर्म निरपेक्षता र गणतन्त्र तथा संविधान जोगाउने काममा एमालेभन्दा कांग्रेस बढी इमान्दार भएको समेत प्रतिक्रिया दिए ।
यस क्रममा केसीले संसद्मा दुई सिट लिएर पनि राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरेका छन् । ‘आँखाको नानी सानो छ, तर संसार देखाउँछ,’ केसीले भने, ‘राजमो सानो छ तर राष्ट्रियताको सवालमा सधैं सही तर्कमा अडिग छ ।’ उनले संघीयताले देश खतरामा परिसकेको भन्दै संघीयता विरोधी अभियान पनि निरन्तर रहने उनले बताए ।
गत २०७४ को निर्वाचनमा भने केसी निर्वाचन लडेका थिएनन् । दुर्घटनामा घाइते भएको र जनताको घरदैलोमा पुग्न नसकेर त्यतिबेला चुनाव नलडेको भन्दै केसीले यसपटक सबै जनताको घरघरमा पुगेर मत माग्ने बताए ।
क्षेत्र नंं १ को (क)मा कांग्रेसका निवर्तमान सभापति दिपेन्द्रबहादुर थापा र (ख)मा कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीले मनोनयन दर्ता गरेका छन् । उक्त क्षेत्रमा एमालेका सूर्य पाठकले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गरे । एमालेका तर्फबाट क्षेत्र क्षेत्र नं. १ को क प्रदेशमा पार्टीका जिल्ला अध्यक्ष हिराबहादुर केसी र क्षेत्र न. २ मा नवराज पौडेलले मनोनयन गरे ।
यहाँ राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले पनि मनोनयन दर्ता गरेका छन् । बागलुङ क्षेत्र नंं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेलले गठबन्धनबाट मनोनयन दर्ता गराए । यसअघि पनि पौडेल क्षेत्र नं. २ बाट निर्वाचित थिए । एमालेले यो क्षेत्रमा मञ्जु शर्मालाई उम्मेदवार बनाएको छ ।



