नाका नखुल्दा तिब्बतका च्याङ्ग्रा भित्रिन सकेनन्

मुस्ताङ । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौं लगाएर बर्षेनी दशैंमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ ।

बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई-दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताए । ‘सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौं’, उनले भने, ‘यीमध्ये केही च्याङ्ग्रा काठमाडौँ पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ ।’

उनका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कदै छन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइपुर्‍याउन हप्ता दिनसम्म लाग्छ । बर्षेनी मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँ पनि पुग्छ ।

सात वर्षदेखि च्याङ्ग्राको व्यापार गरिरहेका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाए । ‘रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै ४० हजार जति पर्‍यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ’, उनले भने, ‘तिब्बतबाट च्याङ्ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ ।’

कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन् । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन् । दुई वर्षअघि रोज्जा च्याङ्ग्रालाई मुस्ताङमा रु २७ हजार पाँच सय परेकामा अहिले त्यो बढेर रु ४० हजार पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस