काठमाडाैं । प्रहरीले स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनीमा संलग्न सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
आइतबार नेपाल राष्ट्र बैंक ऐन २०५८ र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा संलग्न ५ चिनियाँ र दुई जना भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार कल सेन्टरका व्यवस्थापन प्रमुख ४३ वर्षे युइहुआ, ४७ वर्षे सू सिजी, २८ वर्षे चेन मिङ्जु, १९ वर्षे छु यिक्युआङ र १९ वर्षे हुङ छिचेङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । उनीहरू पाँचै जना चिनियाँ नागरिक हुन् । त्यस्तै भारत, उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी र १९ वर्षीया नेहा गुप्तालाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको उनले बताए ।
गत साउन १० गते कल सेन्टरको नाममा अवैध काम गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस सेन्टरमा छापा मारेको थियो । उनीहरूले विभिन्न प्रविधिमार्फत धाकधम्की दिने र व्यक्तिगत गोपनीयता ह्याक गरी रकमको मोलमोलाइ गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको जनाएको छ ।




