काठमाडाैँ । यसवर्ष मनसुन बाहिरिन अझै दुई साता लाग्ने भएको छ । मनसुनको औसत समय शुक्रबार अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ । त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् सञ्जीव अधिकारीले बताए । ‘नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ । यस वर्ष डेढ-दुई ता मनसुन लम्बिन सक्छ’, उनले भने ।
मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ तर अहिले देशभर नै वर्षा भइरहेको छ । ‘मनसुन अन्त्य हुने बेलामा पूर्वतिर मनसुनी प्रणाली कमजोर हुँदै जान्छ तर अहिले पूर्वमा मनसुन सक्रिय छ’ अर्का मौसविद् अधिकारीले भने ।
मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ । अहिले पनि मनसुन सक्रिय रही हल्कादेखि सामान्य वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा भइरहेको छ । यसैले मनसुन अझै कायम रहने सङ्केत देखिएको हाे ।
के हो न्यूनचापीय रेखा ?
मौसम विज्ञानको भाषामा न्यून चापीय क्षेत्र तथा रेखा भनिने गरेको मौसम प्रणाली खासगरी एअर प्रेसर वा वायुको चापसँग सम्बन्धित रहेको र त्यसले आर्द्रतालाई खिचेर पानी पार्ने सम्भावना दर्शाउने मौसमविद्हरू बताउँछन् ।
न्यून चाप भएको क्षेत्रमा एअर प्रेसर कम हुन्छ अनि त्यसले वरपरको आर्द्रता खिच्छ र बादल विकसित हुन्छ । ‘अहिले मनसुनको न्यूनचापीय रेखा तराईनजिक छ । त्यसको अतिरिक्त अहिले भारतको उत्तर प्रदेश क्षेत्रमा केही दिनदेखि विकसित भएको अर्को न्यूनचापीय क्षेत्र बिहीवारदेखि डिप्रेशनमा परिणत भएको छ, उनले भने ।




