चितवनमा जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु

काठमाडाैं । चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघिनै मृत्यु भएको ढिला गरी थाहा भएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईका अनुसार योसँगै जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन । चापागाईका अनुसार हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो बिरामीको बारेमा सोधपुछ गर्दै जाँदा उनको भदौको ३ गतेनै मृत्यु भएको जानकारी शनिबार प्राप्त भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती बिरामीको नमूना भरतपुरको नारायणी सामुदायिक अस्पतालबाट पठाइएको उल्लेख छ ।

अस्पतालको रेकर्डमा भने ती बिरामीको नाम नभएको कार्यालय प्रमुख चापागाईले बताए । थप विवरणका लागि भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई भनिएको उनले जानकारी दिए । विस्तृत विवरण महानगरमार्फत आउने उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री