बालेनले ‘टुकुचा खोला’ भेटेपछि चौतर्फी प्रशंसा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्साअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा टुकुचा खोला भेटिएपछि प्रशंसा भएको छ । मेयर बालेन शाहले थालेको अभियानअन्तर्गत राजनीतिक दलका नेतादेखि आम नागरिकबाट प्रशंसा भएको हो ।

मेयर शाहको कामलाई धेरैले स्वागतयोग्य भनेका छन् । नागरिकको साथ भएका मेयरले टुकुचा खोला भेटेपछि शीर्ष नेता र नागरिक अगुवाहरुको पनि साथ भएका छन् । उत्खनन गर्दै जाँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला भेटिएको हो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो । विगत लामो समयदेखि स्थानीयहरूले खोला अतिक्रमण गरेर संरचनाहरू निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो ।

गत साउन १२ गते काठमाडौँ महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । महानगरले सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैँ टुकुचा खोलाको खोजीमा जुटेको थियो । महानगर टुकुचा खोलाको नक्सा सङ्कलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौँको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीबार डोजर लिएर पुगेको हो ।

बिहीबार टुकुचा खोला भेटिएपछि सामाजिक सञ्जालमा उनको कामको प्रशंसा भएका हो । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मृत प्रायः बनेका नदीलाई पुनर्जीवन दिने मेयर शाहको कदमको खुलेर प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘काठमाडौँ मनपालाई व्यवस्थित गर्ने, मृत प्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहको पहल प्रशंसनीय छन् ! फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ! अतः निश्चित ठाउँ समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !’

यस्तै नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पनि उनको कामको प्रशंसा गरेका छन् । ‘टुकुचा खोलाको पुनर्जन्म ! भू-माफियाहरुको मिठो भोजन बनेको टुकुचा ! त्यसैका लागि त सिंहदरबारको अधिकार स्थानीय तहमा । तब पो अधिकार सहितको संविधानको निर्माण । विश्वास छ आमालाई सुरक्षित राख्न अवश्य सकिन्छ योग्य सन्तानहरूको प्रतीक्षा थियो,’ उनले भनेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक कामको लागि धन्यावाद दिएका छन् । ‘बालेन सुनितालाई धन्यवाद । सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ उनले अगाडि भनेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् । शुभकामना ।’

कनकमणि दीक्षितले ‘भूमिगत जान बाध्य टुकुचा (इच्छुमति) ले गजबसँग सास फेर्न पाइन आज’ भनेका छन् । सामाजिक सञ्जालमा रमेश, दीपक भट्टराई, नवराज पन्त, लक्ष्मण घिमिरेलगायत धेरैले बालेनको कदमको प्रशंसा गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बुद्धनगर सरसफाइ कार्यक्रम : ५००औं हप्ताको सफाइ समापन (फोटो फिचर) 

काठमाडौं । बुद्धनगर सरसफाइ कार्यक्रमले सफाइका ५०० हप्ता पूरा गरेको छ । कार्यक्रमअन्तर्गत शनिबार सेतो गणेशस्थान मन्दिरदेखि डिडिआई बेङ्क्वेटसम्म ५००औं हप्ताको सफाइ गरिएको हो । बुद्धनगर सरसफाइ समूहद्वारा २०७२ वैशाख ५ गते सुरु गरिएको सफाइ कार्यक्रमले अनवरत रुपमा सफाइ गरेपछि बुद्धनगर क्षेत्रमा जथाभाबी फोहर फाल्ने प्रवृत्तिको अन्त्य भएको र सडक सफा देखिन थालेको छ । सफाइ कार्यक्रमको प्रमुख अभियानकर्मी सांसद मोहन कुमार राई हुन् । 

प्रतिकृया दिनुहॊस