काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आज पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निणर्य लिन महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निणर्य लिन आज पुनः बैठक बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् । ‘अहिलेसम्म बयानका क्रममा उहाँले उल्लेख गर्नु भएको कुराहरूलाई रेकर्डमा उतार्छौं । त्यसको आधारमा पूरक प्रश्नका लागि उहाँलाई बोलाउने भन्ने कुरा भएको छ । बसधबार बिहान ९ बजे समितिको बैठक छ । सो बैठकले यस विषयमा थप स्पष्ट पार्छ’, उनले भने ।
जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो । मंगलबारको बैठकमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बरसम्मको प्रश्नको जवाफ लिने काम भएको समितिको जनाएको छ । प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरूलाई पनि आवश्यकता अनुसार बयान लिने समितिको योजना छ ।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने महाभियोग सिफारिस समितिका सबै बैठकहरू प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ । यसअघिका बैठकका निणर्यहरू गलत ढंगले आम सञ्चार माध्याममा प्रशारण भएकाले त्यसो हुन नदिन अबका सबै बैठकहरू प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाउन आफूहरूले माग गरेको एमालेका उपाध्यक्ष एवम् समितिका सदस्य विष्णु पौडेलले जानकारी दिएका छन् ।
समिति सदस्य प्रमोद साहले प्रस्ताव टुंगो नलाग्दासम्म अदालत फर्कन नसक्ने दाबी गरे । ‘हामीले प्रतिवेदन बुझाउन छिटो-छिटो गरिरहेका छौँ । प्रतिवेदन बुझाएपछि उहाँलाई निलम्बनमै राख्नु पर्छ भन्ने दबाब पर्छ । किनभने प्रतिवेदन अभियोग ठहराउने गरी आउने देखिन्छ । अभियोग प्रमाणितसहितको प्रतिवेदन संसद्मा गयो भने टुंगो नलाग्दासम्म अदालत फर्कन पाउनु हुन्न । आरोप ठहरिएन भने उहाँ पछिसम्म आरोपी नै हो,’ उनले भने ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङ पनि जबराको अदालत फर्कने ढोका बन्द भएको बताउँछन् । ‘महाभियोग निष्क्रिय भए पनि अदालत फर्किने अवस्था छैन, संसद्को महासचिवको पत्रले निलम्बन भएका हुन्, उनी फर्किन महासचिवको पत्र चाहिन्छ, त्यो पाउने अवस्था म देख्दिनँ’, उनले भने ।
प्रतिकृया दिनुहॊस