प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलसहित माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका वरिष्ठ नेताहरुको समेत उपस्थिति रहेको थियो ।

अध्यक्ष ली ले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटवार्ता गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् ।

सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्नुहुने चारदिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

चिनियाँ नेता लीले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता हुनेछ । त्यस्तै उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री