काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले सिटको बाँडफाँट टुंग्याएको दाबी गरेको छ । आगामी निर्वाचनमा कसले कति सिट पाउने भन्ने विषयमा सहमति भइसकेको नेताहरुले दाबी गरेका हुन् ।
सिट बाँडफाँट कार्यादलले आज प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने नेकपा माओवादी केन्द्रका महासचिव तथा कार्यदल सदस्य देव दुरुङले जानकारी दिए । ‘हिजै टुङ्ग्याउने भनेका थियौँ केही प्राविधिक पक्षहरू बाँकी रहे र टुङ्ग्याइएन,’ उनले भने, ‘आज चाहिँ अन्तिम बैठक बसेर काम टुङ्ग्याएर प्रतिवेदन शीर्ष नेता (गठबन्धन)लाई बुझाउँछौँ र हामी काम सक्छौँ ।’
स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ। कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।
कार्यदलको बैठक साँझ ५ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहेका छन् ।




