आज नेपालले पाकिस्तानसँग खेल्दै

बंगलादेश । साफ च्याम्पियनसिप फुटबल २०१८ को पहिलो खेलमा आज (मंगलबार) नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार दिउँसो ४ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल पाकिस्तानलाई पराजित गर्दै आफ्नो सुखद् शुरुवात गर्ने लक्ष्यमा छ । तर, पाकिस्तानलाई पराजित गर्न नेपाललाई त्यति सजिलो भने छैन । किनभने नेपाल इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको यु–२३ फुटबलमा २–१ गोलअन्तरले पराजित भएको थियो ।

पाकिस्तान लामो समय फिफाबाट प्रतिबन्धमा परेपछिको यो पहिलो र ठूलो प्रतियोगिता हो ।

पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक भेट भएका छन् । नेपालले ५ खेलमा जितेको छ भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेल सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग १–० गोलको पराजय भोगेको थियो ।

नेपालले पछिल्लोपटक सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको थियो । १–० गोलले पछि परेको नेपालका लागि अन्तिम समयमा विमल घर्तीमगरले गोल गर्दै बराबरी दिलाएका थिए ।

यसअघि सोमबार भएको प्री–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए । मुख्य प्रशिक्षक महर्जनले भने ‘हामी यहाँ उपाधि जित्न आएका हौं । हाम्रो पहिलो लक्ष्य भनेको सेमिफाइनल पुग्ने त्यसपछि उपाधिका लागि जित्ने नै हो ।’

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।

नेपाली फुटबल टिम

गोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने

डिफेन्डर – आदित्य चौधरी, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डर – हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड – भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अञ्जन विष्ट

अनलाइनखबर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री