काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोली र अर्थ सचिव कृष्णहरि पुष्करबीच भेटवार्ता भएको छ । गत शुक्रबार उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिदेशक केशवमान सिंह तथा उपनिर्देशक मार्सल राठौरसहितको एक प्रतिनिधिमण्डलले अर्थसचिव पुष्करसँग भेटवार्ता गरेका हुन् ।
भेटको क्रममा संघका अध्यक्ष राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको भन्दै नेपाको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको जानकारी गराइन् ।
संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेश्रो बैठकको आयोजना गराउन पनि भारतीय दूतावासमार्फत पहल गर्दै गरेको बताउँदै सोही विषयलाई लक्षित गर्दै धार्मिक पदमार्गसम्बन्धी कफीटेबल बुक र वेबसाईट निर्माणको तयारी अन्तिम चरणमा भइरहेको जानकारी दिइएको छ ।
नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनका लागी संघले आफ्नो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागि पनि अध्यक्ष राणाले अनुरोध गरिन् ।
नेपालको आर्थिक विकासको दृष्टिकोणले तय गरिने हरेक कार्यमा अर्थ मन्त्रालय प्रमुख सरोकारवाला निकाय भएको तथा लगानी तथा व्यापारको दृष्टिकोणबाट संघ पनि प्रमुख सरोकारवाला संस्था भएको कारण मन्त्रालयले भविष्यमा गर्ने हरेक कार्यक्रममा संघलाई पनि समेत्न र सहकार्य गर्न पनि अध्यक्ष राणाले अर्थ सचिव समक्ष प्रस्ताव गरेकी छन् ।
भेटमा सचवि पुष्करले संघले गरेका विगतका कार्यहरूबारे आफू जानकार रहेको भन्दै त्यसकाे प्रशंसा गरे । त्यस्तै अहिले भारत सरकारले नेपाल प्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको विकासमा सकारात्मक रूपमा नै हेर्ने गरेको बताउँदै भारतबाट धेरै सिक्न सकिने र भारतसँगको सम्बन्धबाट लिन सकिने लाभहरूमा ध्यान जानुपर्ने बताए ।




