काठमाडौं । भाद्र कृष्ण पञ्चमीबाट सुरु हुने गौरा पर्व पहाडी जिल्लावासीले मनाउने प्रमुख चाड हो । यो महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । ‘गौरा-महेश्वरको व्रत बस्नाले मनोकामना पूरा हुने, सुखी जीवन प्राप्त हुने जनविश्वास रहि आएको छ ।
पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिका रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही बेला देखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती पनि छ ।
यो पर्व मनाउन व्रतालु महिलाले धान, साउँ, कुस, तील लगायतका बोटबिरुवा प्रयोग गरी तयार पारेको गौरा भगवतीको प्रतिमालाई धार्मिक अनुष्ठानका साथ आज गौरा भित्र्याउछन् ।
गौरा भित्र्याई सकेपछि व्रतालु महिलाले गौरी भगवती र महेश्वर भगवानको पूजाअर्चना गर्ने गर्दछन् । पूजामा विशेषगरी व्रतालु महिलाको सहभागिता हुने गर्दछ। पूजाको काम सकिएपछि हरेक दिन महिला–पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी र देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ । अष्टमीको दिनदेखि समुदायमा देउडा खेल्ने चलन रहेकाले यो पर्वको सामाजिक महत्व पनि उत्तिकै छ ।




