काठमाडाैँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओली निवास बालकोटमा साँझ ६ बजे भएको छलफल अढाई घण्टा चलेको नेता मिश्रले जानकारी दिएका हुन् ।
भेटका लागि मिश्र ओली निवास बालकोट पुगेका थिए । मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्- ‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो ।’
ओलीले ‘तपाईँ चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।’ भनेर सुझाव दिएको मिश्रले उल्लेख गरेका छन् । भेटमा आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का ओलीले उपहार दिएको पनि मिश्रको भनाई छ ।





