काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारेको छ ।
प्रतियोगिता सुरु हुन ५० दिन मात्र बाँकी रहँदा राखेपले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभिन्न तयारीहरू तीव्र रूपमा अघि बढेको जनाएको हो । प्रतियोगीताका लागि ३६ वटा खेलका खेलाडी कोटा र खेल इभेन्ट्स स्वीकृत गरिएको छ भने स्वर्ण ३९३, रजत: ३९३ र कांस्य ६०० रहने राखेपले जनाएको छ ।
त्यस्तै प्रतियोगिताका लागि ६० करोडको बजेट सुनिश्चित भएको र पहिलो किस्ता बापत १० करोड निकासा भइसकेको राखेप सदस्य सचिव टंकलाल घिसिङले बताए । उनले उपसमितिहरूको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारम्भ गरिएको जानकारी दिए ।
खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटी गठन भई कार्य सुरु भएको , प्रचार प्रसारको काम सुरु भएको उनले बताए । खेल सामाग्री, खेल पोसाक, किड्स ब्याग खरिदका लागि अनलाइन टेन्डर सूचना गरिसकिएको, राष्ट्रिय ट्रफी विजेता टफी र मेडलको नमुना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको र उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रक्रिया सुरु भएको घिसिङले बताए ।
खेलाडी तथा अफिसियलको बसोबासका लागि पोखरामा होटेलका संख्या यकिन गरी व्यवस्थापनको काम भइरहेको, प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या यकिन,दररेट निर्धारण गरी बोलपत्र आव्हान भएको राखेपले जनाएको छ ।




