काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नाम सिफारिस गरेको छ । उनीसँगै रामप्रसाद पोखरेलको नाम पनि सिफारिस भएको छ ।
अनेरास्ववियूका अध्यक्ष पराजुली र पोखरेलको नाम काठमाडौं–५ को प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष रामकृष्ण सेढाईले जानकारी दिए। काठमाडौं–५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो। सो क्षेत्रमा पराजुलीले यसअघिदेखि नै निर्वाचन लड्ने बताउँदै आएका थिए। ०७४ को निर्वाचनमा पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसैगरी संघमा समानुपातिकतर्फ अष्टनारायण डंगोलको नाम सिफारिस गरिएको सेढाईंले जानकारी दिए । यसैगरी प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ (क) मा प्रत्यक्षतर्फ हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटा र समानुपातिकमा सानुमैया सुवेदी सिफारिसमा परेका छन् ।
क्षेत्र नम्बर ५ -ख)मा रामकृष्ण सेढाईं, दीपक केसी र बालकृष्ण श्रेष्ठ प्रत्यक्ष निर्वाचनका लागि सिफारिसमा परेका छन् । समानुपातिकमा देवराज डंगोलको नाम सिफारिस गरेको सेढाईंले जानकारी दिए ।
काठमाडौं ५ मा स्थानीय तहमा एमाले पहिलो शक्ति बनेको छ । एमालेले १९ हजार ७०३, कांग्रेसले १४ हजार ८५३, राप्रपाले २ हजार ८२२, एकीकृत समाजवादी १ हजार ८२७, माओवादीले १ हजार १६८ र जसपाले ५८ मत पाएका छन् ।




