नेपालमा एकै महिनामा भित्रियो साढे दुई अर्ब बढीका मोबाइल फोन

काठमाडौं । एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन (स्मार्टफोन) नेपाल भित्रिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात गरेको छ ।

सो मूल्यमा नेपालमा १ लाख ७६ हजार २४९ वटा मोबाइल सेट नेपालमा भित्रिएको विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ को साउनमा नेपालले विभिन्न देशबाट ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजार रुपैयाँमा ६ लाख ६७ हजार ५१८ वटा मोबाइल सेट आयात गरेको थियो ।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीनबाट आउने गरेको छ । गत साउनमा मात्र चीनबाट १ अर्ब ९८ करोड २० लाख रुपैयाँको मोबाइल फोन नेपालमा भित्रिएको छ । चीनपछि भारतबाट नेपालमा ठूलो मूल्यका मोबाइल सेट आउने गरेको छ । गत साउनमा भारतबाट नेपालले ५० करोड २६ लाख १२ हजार रुपैयाँको मोबाइल सेट आयात गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप