काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जथाभावी फोहोर फाल्नु अपराध भएको बताएका छन् । बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले सीसीटीभीबाट बाटोमा फोहोर फाल्नेको निगरानी गरिने बताए । उनले त्यस्ता व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा समेत ल्याइने बताए ।
काठमाडौं उपत्यकाको सबै फोहोर केही दिनभित्रै उठिसक्ने पनि उनले बताए । उपत्यकामा अपराध रोकथाम र नियन्त्रणमा महानगर सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता मेयर शाहले गरे । महानगरले विभिन्न ठाउँमा सीसीटीभी थप्न लागेको पनि उनले बताए ।
यसैबीच काठमाडौं महानगरपालिकाले नक्सा पासबिना अनधिकृत संरचनाहरू भत्काउँदा भएको खर्चको भरपाई महानगरले सम्बन्धित घरधनीलाई नै भराउने भएको छ।
बुधबार मेयर बालेन शाहले पनि फेसबुकमा लेख्दै संरचना भत्काउँदा भाडावालालाई परेको क्षतिको पूर्ति घरधनीलाई नै भराउन हदैसम्मको पहल गर्ने जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुख व्यक्त गर्दछौँ । साथै, त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ ।’




