काठमाडाैं । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरूको ब्राण्ड सामसङले नेपालमा टेलिभिजन उद्योग स्थापन गर्ने भएको छ । सामसङले धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा टिभी कारखाना स्थापना गर्ने भएको हो ।
परम्परागत धार्मिक विधिअनुसार बुधवार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको छ । सो समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीईओ एचके पार्क उपस्थिति थिए ।
समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाही, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङ, मित्रराष्ट्र दक्षिण कोरियाका राजदूत श्री पार्क चोङ सुक, रामग्राम नगरपालिकाका प्रमुख श्रवणकुमार पोखरेललगायत उपस्थित थिए ।
समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले भने, ‘हाम्रो लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलईडी टिभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरूप्रति उपभोक्ताहरूले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो । हामी नेपाल सरकार र स्थानीय निकायहरूलाई वहाँहरूले दिनु भएको साथ सहयोगको लागि आभार व्यक्त गर्दछौँ ।’
सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुंगा साबित हुने बताए । उनले भने, ‘कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ । यो हाम्रो सामसङसँगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।’
यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्नेछ र स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरू तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरू व्यापक बनाएको छ । यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरू सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्नेछ ।
कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरू टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरू बिक्री वितरण गर्दै आइरहेको छ ।
नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरू र ग्राहक सेवा केन्द्रहरूको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ ।




