सभामुखसँगको भेटमा जिसिटिपिले भन्यो- ‘नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छौँ’

काठमाडौँ । ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपि)का उच्च अधिकारीहरूले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन् । जिसिटिपिका अधिकारीहरूले सोमबार सभामुख सापकोटासँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भएको शिष्टाचार भेटमा नेपालबाट धेरै कुरा सिक्न चाहेको बताएका हुन् ।

भेटमा विश्व शान्ति र सहिष्णुता क्षेत्रमा काम गर्न विश्वका ९० बढी देश संलग्न जिसिटिपिका वर्तमान अध्यक्ष अहमद अल जरवानले भने, ‘शान्ति र सहिष्णुताको संस्कार सबैले अङ्गीकार गर्नु आवश्यक छ, यसका लागि हामीले नेपालको शान्ति प्रक्रियाबाट धेरै सिक्नु छ ।’ पालको शान्ति स्थापनाको राम्रो उदाहरण रहेको एवं विविधताबीच एकता कायम रहेको कुराले विश्वका धेरै देशका सांसदलाई नेपाल आउन प्रेरित गरेको अध्यक्ष जरवानको भनाई छ ।

प्रतिनिधि मण्डलका सदस्यहरूले विश्व शान्तिका लागि संयुक्त राष्ट्रसङ्घ मार्फत शान्ति सेना पठाएर गरेको सहयोग तथा बुद्धको जन्मथलोका रूपमा विश्वभर शान्तिको सन्देश दिएको देश नेपालमा निकट भविष्यमा ग्लोबल कन्फरेन्स गर्ने इच्छा व्यक्त गरेको थियो । भेटमा सभामुख सापकोटाले वर्तमान विश्व परिवेशमा शान्ति र सहिष्णुताको महत्त्व अझ बढेर गएको बताउँदै यसका लागि सबैबाट असीमित प्रयासको खाँचो औँल्याए । नेपालमा शान्ति प्रक्रियाका धेरै विषय टुङ्गिएको र केही बाँकी रहेको जानकारी गराउँदै सभामुख सापकोटाले यहाँको शान्ति स्थापनामा भएका उत्तम अभ्यासहरू विश्वका लागि महत्त्वपूर्ण हुन सक्ने धारणा राखे ।

सभामुख सापकोटाले विश्व शान्ति पुनर्स्थापनाकाे काम गरिरहेका संस्थाहरुबीच ऐक्यबद्धता र सहकार्य जरुरी रहेकोमा जोड दिँदै आफू नेतृत्वको सङ्घीय संसद् सहकार्यका लागि सधैँ तयार रहेको बताए । सो भेटमा जिसिटिपिका फरक फरक देशका १३ सदस्यीय प्रतिनिधि मण्डलका सदस्यहरूले लैङ्गिक समानताका क्षेत्रमा नेपालले गरेका काम उदाहरणीय रहेको बताएका थिए ।

यसैबीच नेपालको सङ्घीय संसद् र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार अपराह्न सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र जिसिटिपिका तर्फबाट जोरान इल्लियोभोस्कीले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा विश्व शान्ति र सहिष्णुताका लागि सहकार्यका विषय समावेश छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री