काठमाडौं । नबिल बैंकले प्रेन्सा रेग्मीलाई ‘नबिल जेन अल्फा’को ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । समाजसेवा गर्दै आएकी रेग्मीलाई बैंकले एम्बेसडरमा नियुक्त गरेको जानकारी दिएको हो ।
नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो । अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् ।
बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्टमार्फत् बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको बताइएको छ ।
रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिग्य अवार्ड २०२२ जितेकी थिइन् ।
जेन अल्फा बालबालिकालाई मार्गदर्शन, उत्प्रेरित र प्रोत्साहित गर्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।
प्रेन्सा एक समाजसेवी तथा लक्षित समूहलाई प्रतिनिधित्व गर्ने प्रेरणादायी पात्र भएकोले छनोट गरिएको उनले जानकारी दिए । यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको ढुङ्गानाले बताए ।




