काठमाडौँ । समाजवादी चिन्तक प्रदीप गिरीको निधनसँगै उनका केही सपना अधुरा रहेका छन् । त्यस्ता कतिपय सपना र अठोट उनी सिकिस्त बिरामी हुँदा पनि व्यक्त भएका थिए ।
गिरीलाई रोगले च्यापेर दुःसाध्य अवस्थामा पुर्याउँदा पनि आफ्नो वैचारिक व्यक्तित्व संसद्मार्फत जनसमक्ष प्रस्तुत गर्ने अठोट गरेका थिए । त्यसका लागि उनले चिकित्सकसँग झगडा पनि गरेका थिए । मुम्बईमा क्यान्सरको उपचार गराइरहँदा भतिज डा. सन्दर्भ गिरीले बिरामी काकाले स्वास्थ्यमा हेलचेक्र्याइँ गरेको भनी परहेजमा रहन सम्झाउँदा आफू आत्मबलले निको भएर संसद्मा भाषण गर्ने बताएका थिए ।
गिरीका सहयोगी रामसागर यादवका अनुसार मुम्बईमा अस्पताल धाउँदा गिरी काका निकै कमजोर भए । गिरीका भतिज सन्दर्भ गिरीले ठूलोबुवालाई समय-समयमा खाना खानू, लापरबाही नगर्नू भन्थ्ये । गिरी ‘तँ डाक्टर भएँ भन्दैमा मलाई सिकाउने’ भन्दै बहसमै उत्रिन्थ्ये । त्यसै सन्दर्भमा नेता गिरीले आफू पूर्ण स्वस्थ भएर संसद्मा भाषण गर्ने धोको रहेको बताएका थिए ।
यादवले भने, ‘ठूलोबुवा तपाईं बिरामी हुनुहुन्छ, राजनीतिक कुरा गरेको होइन । मैले स्वास्थ्यको कुरा गरेको भन्नुहुन्थ्यो डा. गिरीले । मुम्बईमा प्रदीप काका निकै कमजोर भएपछि नेपालमै उपचार गर्ने भनेर फर्काइएको हो ।’ तर, गिरीले जित्न सक्नुभएन । संसद्मा फर्केर एक पटक दमदार भाषण गर्ने गिरीको सपना अधुरै रह्यो। संसद्मा भाषण गर्ने मात्र होइन, आत्मवृत्तान्त र नेपालको राजनीतिक वृत्तान्त लेख्ने तथा युवापुस्तालाई नेतृत्वमा ल्याउने योजना गिरीले बनाउनुभएको थियो । ती पनि पूरा हुन सकेनन् ।
गिरीका निकट वरिष्ठ पत्रकार किशोर नेपालका अनुसार गिरीले तीन जनाको सहकार्यमा नेपालको राजनीतिक वृत्तान्त लेख्ने योजना थियो तर त्यो पनि अधुरो नै रह्यो । गिरी आत्मवृत्तान्त पनि लेख्न चाहनुहुन्थ्यो। त्यो कुरा उनका बालसखालाई सुनाएका थिए ।
नेता गिरीका बालसखामध्ये एक सिरहाको बस्तीपुरका ७१ वर्षीय कुमुदरञ्जन बरालले भाने, ‘दाइले आत्मवृत्तान्त लेख्छु भन्नुहुन्थ्यो, लेख्नुभयो कि लेख्नुभएको छैन, त्यो थाहा भएन । लेख्ने विचार आएको बेला बिरामी पर्नुभयो। आत्मवृत्तान्त पनि प्रकाशन हुन पाएन ।’
वरिष्ठ पत्रकार नेपालले भने आफूलाई आत्मवृत्तान्तबारे थाहा नभएको तर नेपालको राजनीतिक वृत्तान्त भने अधुरै रहेको बताए । लहान नगरपालिकाका प्रमुख महेश चौधरीका अनुसार गिरी युवापुस्तालाई नेतृत्वमा ल्याउन चाहनुहुन्थ्यो । उनले भने, ‘गिरीले अब म सक्रिय राजनीति गर्दिनँ तर युवापुस्तालाई राजनीतिप्रति उन्मुख गराउनेछु । यसका लागि तिमीहरूले मलाई साथ दिनुपर्छ भन्नुहुन्थ्यो । गिरीको यो धोको पूरा हुन सकेन, अब हामी गिरीको यो धोको पूरा गर्छौं । -गोरखापत्र दैनिकबाट




