काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।
शनिबार काठमाडौँमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरवार छिर्ने अधिकार पटक पटक दिन नहुने तर्क गरे । उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताएका छन् ।
दलहरुले आ-आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए । उनले भने, ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्यो । राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरवारबाटै हुुनुपर्छ । मैले त भन्ने गरेको छु-राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनु हुन्न ।’
महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दाबी समेत गरेका छन् । उनले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।




