नागरिकताको प्रावधान हटाउने बहस गर्न सकिन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकताको प्रावधान हटाउने बहस गर्न सकिने बताएका छन् । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय समिति क्षेत्र नम्बर ८ (ख)ले आयोजना गरेको प्रदेशसभा क्षेत्रीय सम्मेलनमा बोल्दै सांसदसमेत रहेको थापाले यस्तो बताएका हुन् ।

उनले नागरिकताको प्रावधान ४० वर्षदेखि रहेको बताए । ‘यो कानुन राजा वीरेन्द्रको पालादेखि छ, त्यो बेलादेखि अहिलेसम्म करिब ३ लाख महिलाले नागरिकता पाएको रेकर्ड छ,’ उनले भने, ‘यो प्रावधान नयाँ राख्न लागेको र लाखौँले नागरिकता पाउन लागेको हो कि भन्ने जस्तो धेरैलाई परेका छ । जबकि यो प्रावधान ४० वर्षदेखि छ, यसलाई हटाउन पनि सकिन्छ, यसबारे पनि बहस गर्न सकिन्छ ।’

अङ्गीकृत नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा भएको उनको भनाई छ । ‘वैवाहिक अङ्गीकृत नागरिकताका विषयमा ४० वर्षदेखि एउटा व्यवस्था छ । त्यो व्यवस्थालाई यो विधेयकले छोएको छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा पनि छोएको थिएन । यो विधेयकले व्यवस्था गरेको छैन,’ उनले भने, ‘त्यही विषयमा बढी चर्चा गरिरहेका छौँ । नछोएको कुरामा बहस भइरहेको छ ।’

उनले केही कुराहरूका लागि भने संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे । ‘वैवाहिक अङ्गीकृतका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्नुभएको छ, त्यो ठिक हो तर, यो विधेयक रोक्दा नेपाली नागरिकबाट जन्मिएकाले नागरिकता पाउँदैनन् । सरकारले ल्याउँदै गर्दा तत्काल जे आवश्यक छ त्यो ल्याएको छ, भोलि संशोधन गर्दै जाने हो,’ महामन्त्री थापाले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री