काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपालमा पनि लेन्डुप दोर्जेहरुको जन्म हुने बताए ।
उनले लेन्डुप दोर्जेको विरोध नगर्नेहरू संसारको कुनै कुनामा नहोलान् भन्दै नेपालीले पनि लेन्डुप दोर्जे देशघाती भनेर धेरै विरोध गरेको बताए । नागरिकता विधेयक पास गरेर फिर्ता आएको र फेरि पास गरेमा एक दुईवटा निर्वाचनपछि सांसदहरू नेपाली लेण्डुप दोर्जे बन्ने उल्लेख गरे ।
उनले अगाडि भने, ‘त्यसपछि नेपाल सिक्किम र फिँजी बन्ने खतरा छ । यो इतिहासले देखाएको कुरा हो, प्रमाणहरू धेरै छन् । भारत बेलायती उपनिवेशबाट मुक्त भयो तर त्यहाँका शासकहरूमा उपनिवेशको मानसिकता कायमै छ । यो एउटा तथ्य, २०६४ सालमा ७ दलको बैठकमा गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालले एसडी मुनीको हवाला दिँदै भन्नुभएको थियो, एक प्रदेश एक मधेश त भारतको इच्छा हो । अन्त कतै भन्नुभएको हैन ७ दलको बैठकमा भन्नुभएको हो, इतिहास साक्षी छ ।’
उनले सुगौली सन्धिभन्दा अगाडि नेपालको सीमाना खुला नभएको बताउँदै सन् १९५० मा आएको शान्ति तथा मैत्री सन्धिपछि नेपाल भारत खुला सीमा भएको त्यसले नेपालको नागरिकता समस्या ल्याएको बताए । उनले सच्चा नेपालीले नागरिकता पाउनुपर्ने बताउँदै कुनैपनि निहुँमा विदेशीलाई नागरिकता दिनु देश घात हुने उल्लेख गरे ।
उनले सो नागरिकता विधेयकमा नेपालीसँग बिहे गरेकी भारतीय महिलाले तत्काल नागरिकता पाउने व्यवस्था रहेको बताउँदै नेपाली महिलाले भारतीयसँग बिहे गरेमा नागरिकता पाउनका लागि ७ वर्ष कुर्नुपर्ने प्रावधान रहेको उल्लेख गरे ।
प्रतिकृया दिनुहॊस