काठमाडाैँ । काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोट स्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीय डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् । नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् ।
कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसै गरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।




