काठमाडौँ । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजबाट समाप्त हुँदैछ । ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समयसीमा आजबाट समाप्त हुन लागेको हो ।
सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको सङ्ख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय मान्यता प्राप्त दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि काँग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरू मध्ये सत्तारुढ दल नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ । कांग्रेसले दल दर्ता प्रक्रिया पूरा गर्ने जिम्मा मुख्य सचिव पौडेललाई नै दिएको छ ।




