काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको बताएका छन् ।
राष्ट्रपतिले विधेयक फिर्ता गर्नु हुँदैन थियो भन्ने पक्षमा आफू नरहेको भन्दै उनले संसद्ले पनि आफ्नो अधिकार प्रयोग गर्नसक्ने बताएका छन् । उनले भने, ‘नागरिकता विधेयक संसद्मा फिर्ता भयो भन्दैमा आक्रोश व्यक्त गर्न पर्दैन ।’
विधेयकमाथि गरिएका टिप्पणी के छन्, त्यसलाई अध्ययन गरेर संसद्ले आफूसँग रहेको अधिकार प्रयोग गर्नसक्ने उनको भनाइ छ । विधेयक फिर्ता गर्नु नै असंवैधानिक कार्य भनेर आलोचना गर्न नहुने गगन बताउँछन् ।
राष्ट्रपतिले फिर्ता गरेको विधेयक संसद्ले जस्ताको तस्तै पठाउन सक्छ । ‘राष्ट्रपतिले गर्नु भएका टिप्पणी के छन् त्यसमा पार्टी र गठबन्धन सरकारले पनि छलफल गर्छ । हामीले विशेष सोचका साथ पारित गरेर पठाएका छौँ, त्यसैले हामी यसमा स्पष्ट छौँ’, कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले भने, ‘विधेयक फिर्ता भइसकेपछि दलहरूले धारणा बनाएर अगाडि बढ्छन् ।’
विधेयकबारे व्यक्तिगत टिप्पणी नगर्ने बताएका उनले नागरिकताबाट नागरिक वञ्चित हुने अवस्था नआओस् भन्ने आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ ।



