काठमाडौं । पर्सा प्रहरीले बहिनीको प्रेमीको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका-५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका प्रह्लाद कार्की रहेका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । उनीहरूले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीको आरोप छ ।
उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमार ठाकुरलाई वीरगन्ज महानगरपालिका-१६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ ।
उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेसनमा पुर्याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए ।
त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमान्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार, भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।
२४ गते ट्युसन पढ्न हिँडेका राजकुमार बेपत्ता भएको भन्दै उनका बाबुले प्रहरीमा उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शङ्का लागेर सोधपुछ गर्दा उनीहरूले अपराध स्वीकारेका प्रहरीको दाबी छ ।




