काठमाडौँ । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नु हुन्छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो ।
सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ ।




