काठमाडौँ । विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल-भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो ।
८० देशका करिब २४ हजार मानिसमा मङ्कीपक्सको सङ्क्रमण फैलिएको डब्लुएचओले जनाएको छ । डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा. चथुरा इदिरीसुरियाले मङ्कीपक्स रोगको जोखिम बारेको जानकारी समुदायमा सरकारले गराउनु आवश्यक रहेको बताए । रोग सार्नेमध्ये ९७ दशमलव पाँच प्रतिशत सङ्क्रमण पुरुष पुरुषबीच हुने यौन सम्पर्कबाट सर्ने गरेको पाइएको डब्लुएचओले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले छिमेकी मुलुकमा देखिएसँगै नेपाल पनि मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको बताए । उनले अहिलेसम्म शङ्कास्पद चार वटा नमूना परीक्षणमा मङ्कीपक्स रोग नदेखिएको जानकारी दिए ।
सरकारको तयारी
मङ्कीपक्सको जोखिम कम गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले मङ्कीपक्स पत्ता लगाउन अध्ययन अनुसन्धान गर्न देशभर १४ जना चिकित्सकलाई फोकल पर्सन नियुक्त गरी काम गरिरहेको बताए ।
मङ्कीपक्सका शङ्कास्पद बिरामीको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको छ । महाशाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकलाई अभिमुखीकरण तालिम दिइसकेको छ । उनले ‘इन्टर्नल गाइडलाइन अन क्लिनिकल म्यानेजमेन्ट अफ मङ्कीपक्स-२०७९’ तयारी गर्न थालेको जानकारी दिए ।
उनले स्वास्थ्य सेवा विभागका सबै महाशाखालाई मङ्कीपक्सको प्रतिकार्यका लागि आगामी कार्ययोजना समेत बनाउने निर्देशन दिइसकेको जानकारी दिए । महाशाखाले मङ्कीपक्सको उच्च जोखिममा रहेका समुदायसँग पनि रोकथाम र नियन्त्रणबारे छलफल गरेको उनको भनाइ छ । सात वटै प्रदेशका प्रदेश निर्देशनालयलाई मङ्कीपक्सको रोकथाम र नियन्त्रण गर्नका लागि निर्देशन दिइएको छ ।
बच्ने उपायहरु
मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूणर्रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, निययमितरूपमा साबुन पानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नु पर्दछ ।
यस्तै मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले पिसिआर परीक्षण गर्ने, सङ्क्रमितको सम्र्पकमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नु पर्दछ ।




