काठमाडाैँ । देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । अहिले हाल देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको हाे ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसारआज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभाको भनाइ छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




