यो निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजान्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने उनको तर्क थियो । ‘पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ ।’

उनले गाउँपालिकाको अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको पनि बताए । ‘अहिलेको शासन प्रणालीमा सांसद नभई मन्त्री, प्रधानमन्त्री हुन पाइँदैन, त्यसैले करोडौँ खर्च गरेर सांसद हुन खोज्छन् । पैसा खर्च गरेर मन्त्री, प्रधानमन्त्री भएपछि आफूले गरेको लगानी असुल्न खोज्छन् । अनि भ्रष्टाचार हुन्छ,’ अध्यक्ष प्रचण्डले भने ।

उनले जनयुद्धको तयारी भइरहेको समयमा नरबहादुर कर्माचार्यले आफूलाई उत्प्रेरित गरेको स्मरणसमेत गरे । नरबहादुर कर्माचार्यले आफूलाई अभिभावकको रूपमा माया गर्ने गरेको उनको भनाई थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री