जनार्दन शर्मामाथि छानविन : समितिले माग्यो सिंहदरबार गेटको सीसीटीभी फुटेज

काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माण प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृह मन्त्रालय समक्ष सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मागेको छ ।

सीमित व्यापारीलाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको तथा अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिनु परेको थियो । सोही घटनाबारे छानबिन गर्न बनेको संसदको विशेष समितिले शर्मामाथि छानबिन गर्ने क्रममा दुवै गेटको सीसीटीभी फुटेज मगाएर अनुसन्धान अघि बढाउन लागेको हो ।

अर्थ मन्त्रालयका दुई सचिव, कर्मचारी र सुरक्षाकर्मीसँग बयान लिए पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि नभएपछि समितिले आइतबारदेखि छानबिनको दायरा फराकिलो पार्न लागेको हो । समितिको आइतबारको बैठकले सिंहदरबार प्रवेश गर्ने गेटदेखि छानबिन गर्न गत जेठ १४ गते दिउँसो १२ देखि भोलिपल्ट १२ बजेसम्मको फुटेज गृह मन्त्रालयसँग माग गर्ने निणर्य भएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि बजेट निर्माणको दिनको फुटेज नपाएपछि रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । रिपोर्ट अझै आएको छैन । असार २२ मा गठन भएको समितिले २८ देखि काम सुरु गरेको थियो । पहिलो सात दिनको अवधिमा छानबिन नटुङ्गिएपछि बिहीबार संसद्ले अर्को सात दिनको समय थप गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री