सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिच्यो, तीनको मृत्यु, १२ घाइते

काठमाडाैं – भक्तपुरको सल्लाघारीमा रूख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रूख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको हाे ।

महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेकाअनुसार काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिएको थियाे । बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा घटिएका प्रत्यक्षयदर्शीले बताएका छन् । बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेको उद्धार गर्ने, घाइतेलाई अस्पताल पु-याउने, सडकबाट रूख पन्छाएर यातायात सञ्चालन गर्नेलगायत काममा लागेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक पाण्डेले घाइतेको सङ्ख्या अझै बढ्नसक्ने बताए ।

मृतक तथा घाइतेको पहिचान भने खुलेको छैन । धेरै वर्ष पुरानो रूख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप