मंकीपक्स संक्रमण : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ । मंकीपक्सको संक्रमणमा देखिएको तीव्रतापछि डब्ल्यूएचओले यो अलर्ट जारी गरेको हो ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको उनले बताए । मंकीपक्सबाहेक हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् ।

डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन । तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताए ।

मंकीपक्स के हो ?
मंकीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ । यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ । तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन् ।

केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन् । तर यसबारे डब्ल्यूएचओको प्रतिक्रिया जान्न केही समय प्रतीक्षा गर्नुपर्छ । मंकीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ ।

यूके सरकारले यो रोग थप फैलिन नदिने उद्देश्यले आवश्यक परे प्रयोग गर्नका लागि बिफरविरुद्धको खोप किनेर राखेको छ । केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ । पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए । ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ ।

मंकीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ । लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन । -बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस