काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको घुसपैठ नरहेको दोहोर्याएका छन् । संसदीय छानबिन समितिमा बयान दिन सिंहदरबार पुगेका शर्माले मन्त्रालयमा बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिको घुसपैठ नरहेको दोहोर्याएका हुन् ।
बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको उनको दाबी छ । ‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरू हुन्छन् अरू मर्यादापालकहरु हुन्छन्,’ उनले छानबिन समितिमा बयान दिँदै भने, ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भए थाहा भइहाल्थ्यो ।’
अर्थमन्त्री शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप लगाइएको छ । यसअघि, गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ ।
संसदीय विशेष छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।
करको दर हेरफेर तथा बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश प्रकरणमा तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । उनको राजीनामा अघि नै प्रतिनिधिसभाले छानबिन समिति बनाएको थियो ।




