जोरपाटीमा निस्किएको ‘मिथेन ग्यास’ करिब १७ घण्टापछि रोकियो

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोकनजिक निस्किएको ‘मिथेन ग्यास’ रोकिएकाे छ । देवीमार्गका स्थानीय सन्तवीर लामाको घरमा खानेपानीको लागि बोरिङ खन्ने क्रममा निस्किएको ग्यास करिब १७ घण्टापछि आउन बन्द भएको हो ।

मंगलबार बिहान करिब साढे १० बजेदेखि निस्किएको लेदो माटो र ग्यास आज बिहान करिब साढे ३ बजेदेखि निस्कन बन्द भएको वडा नम्बर ५ वडाध्यक्ष नारायण बहादुर सुबेदीले मकालुखबरलाई जानकारी दिए । जमिनमुनि करिब ३०० फिट बोरिङ खनेपछि मिथेन निस्केको थियो ।

खानी तथा भूगर्भ विभागकाअनुसार उपत्यकाको जमिनमुनि प्रचुर मात्रामा मिथेन ग्यास रहेको र ३०० फिटको हाराहारीमा ड्रिल गर्दा उक्त ग्यास बाहिर निस्कने गरेकाे हाे । ‘काठमाडौँको जमिनमुनि चट्टान नहुने हुँदा कुनै भागमा मिथेन ग्यास जम्मा भएर बसेको हुन्छ,’ विभागअन्तर्गत ग्यास शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले भने, ‘कसैले त्यो ठाउँमा पानीको लागि डिलिङ गर्दा त्यस्तो फोहोरा निस्किन्छ । सानो प्वालबाट एकैपल्ट हाइप्रेसरमा बाहिर निस्किदा धेरै माथिसम्म देखिन्छ । जोरपाटीमा पनि त्यही भएको हो ।’

विभागका अनुसार काठमाडौँ उपत्यकामा निस्किने सबैतिरको ग्यास मिथेन ग्यास नै हो । मिथेन ग्यासलाई खाना पकाउने काममा प्रयोग गर्न सकिने प्रमुख श्रेष्ठले बताए । टेकुमा सरकारी कार्यालय, तरकारी पसलहरूमा वितरण भइरहेको विभागले जनाएको छ ।

ग्यास निस्किएको क्षेत्रमा रातभर श्री नं १ विपद् व्यवस्थापन गण सुन्दरीजलका सेनाहरूले सुरक्षा दिएका थिए । तत्काल आगलागी हुनसक्ने सम्भावनालाई ध्यानमा राखी २ वटा दमकल तयारी अवस्थामा राखिएको थियो । घटनाबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन ।

अहिले सो क्षेत्र वरपर हिलाम्मे छ । केही महिनाअघि काठमाडौँको कपनमा पनि यस्तै घटना घटेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री