काठमाडाैं । काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो ।
स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको उनले बताए । उक्त लेदो माटोसहितको पानीको फोहोरा मिथेन ग्यास भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको हो ।
विभागअन्तर्गत ग्यास शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार काठमाडौंको जमिनमुनि चट्टान नहुने हुँदा कुनै भागमा मिथेन ग्यास जम्मा भएर बसेको हुन्छ । ‘त्यसपछि कसैले त्यो ठाउँमा पानीको लागि डिलिङ गर्दा त्यस्तो फोहोरा निस्किन्छ । सानो प्वालबाट एकैपल्ट हाइप्रेसरमा बाहिर निस्किदा धेरै माथिसम्म निस्किने देखिन्छ । जोरपाटीमा पनि त्यही भएको हो,’ श्रेष्ठले भने ।
मिथेन ग्यासलाई खाना पकाउने काममा प्रयोग गर्न सकिने प्रमुख श्रेष्ठले बताए । टेकुमा सरकारी कार्यालय, तरकारी पसलहरूमा वितरण भइरहेको विभागले जनाएको छ ।




