काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले शेरबहादुर देउवा नेतृत्वकाे सरकारकाे एक वर्ष समयकाे बर्बादी मात्रै भएकाे बताएकाे छ । सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ- सरकारको नीति तथा कार्यक्रम, बजेट, संसद्मा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादीमा मात्र गरेको छ ।
संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ । भनेकाे छ- संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न समेत सकेको छैन ।
पार्टीकाे स्वास्थ्य विभाग प्रमुखसमेत रहेका केन्द्रीय कमिटी सचिवकुमार योगेश भट्टराईले गठबन्धन सरकार असफल भएकाे बताए । उनले एमालेले आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग भएकाे बताएका छन् ।




