घनश्याम भूसाल भन्छन्- ‘माधवले केपीभन्दा ठूलो गल्ती गरे, प्रायश्चित्त गर्नुपर्नेछ’

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी फूटाएर माधव नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको आरोप लगाएका छन् । भुसालले नेकपा छँदा १० बुँदे सहमतिलाई लत्याएर नेपालले जीवनकै ठूलो गल्ती गरेको आरोप लगाएका हुन् ।

अध्यक्ष नेपालले दोहोरो नीति लिएको उनको भनाइ छ । ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधवले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्,’ सामाजिक सञ्जालमार्फत भने, ‘ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा माधव पनि अगाडि थिए ।’

प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउँदा माधवले विरोध गरेको तर पछि २० प्रतिशत सांसद भए पार्टी फुटाउन सक्ने अध्यादेशबाट पार्टी फुटाएको उनको भनाइ थियो । ‘२० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन,’ उनले अगाडि भनेका छन्, ‘ढिलो वा चाँडो, माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री