काठमाडौँ । आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौँ आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका थिए । विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो ।
चार दिने नेपाल भ्रमणमा आउनु भएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतासँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
विदेश विभाग प्रमुख लिउ होटल द्वारिकामा रहनेछन् । गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो ।
नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ । विदेश विभागमा नियुक्त भएपछि उनले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र, प्रमुख विपक्षी दल एमालेका शीर्ष नेतृत्वसँग श्रव्यदृश्यका माध्यमबाट संवाद गरेका थिए ।




