काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा गरेपछि अब अर्को अर्थमन्त्री को बन्छ भन्ने चर्चा शुरु भएको छ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रालयको जिम्मेवारी आफैले सम्हालेका छन् ।
गठबन्धनमा माओवादी केन्द्रको भागमा रहेको अर्थमन्त्रालय प्रधानमन्त्री देउवाले आफुसँग राख्नुलाई पनि केहिले अर्थपूर्ण रुपमा ब्याख्या गरेका छन् । भने अर्को तर्फ माओवादी केन्द्रबाट अर्थमन्त्री बन्ने सूचीमा नारायणकाजी श्रेष्ठ र बर्षामान पुनको नाम अगाडी आएको छ । नारायणकाजी यसअघि परराष्ट्रमन्त्री भइसकेका नेता हुन् भने बर्षामान पुनले यस अघि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् ।
त्यस्तै नेपाली काँग्रेसमा पनि अर्थमन्त्री काँग्रेसबाट बनाउनुपर्ने चर्चा चलिरहेको छ । काँग्रेसबाट युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनुपर्ने चर्चा सामाजिक सञ्जालमा चलाइएको छ । गठबन्धनमा माओवादीको भागमा रहेको अर्थमन्त्रालय अन्य दलले पाउने सम्भावना भने धेरै कम रहेको बताइएको छ ।
त्यसैले अर्को अर्थमन्त्री माओवादी केन्द्रबाट नै हुने र त्यसको निर्णय केहि दिनमा हुने बुझिएको छ । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक र पदाधिकारी टुंगाउने जटिलतामा फसेका अध्यक्ष प्रचण्डले पार्टी भित्र आन्तरिक रुपमा प्याकेजमै अर्थमन्त्री सहित पार्टीको पदाधिकारी टुंग्याउन सक्ने माओवादी केन्द्रका प्रचण्ड निकट एक नेताले खरीबोटलाई बताए । माओवादीमा अहिले महासचिवका लागि जनार्दन शर्मा र बर्षामान पुनको हानथाप रहेका कारण प्रचण्डले पदाधिकारी तोक्न सकेका छैनन् । विहिबारको बैठकमा पनि प्रचण्डले अझै १-२ दिनको समय मागेका छन् । त्यसैले पनि प्रचण्डले अर्थमन्त्रालय बर्षामानलाई दिएर पार्टीको महासचित जनार्दनलाई बनाउन सक्ने विश्लेषण गरिएको छ ।
विहिबारको बैठकमा प्रचण्डले जनार्दनले उच्च नैतिकताको संदेश दिएको र यसलाई माओवादीका सबै कार्यकर्ताले डिफेन्ड गर्नुपर्ने बताएबाट पनि प्रचण्ड अर्थमन्त्री प्रकरणमा जनार्दनको विपक्षमा नरहेको स्पष्ट देखिएको छ । त्यस्तै अर्को पक्ष अर्थमन्त्री प्रकरण छानबिन गर्न १० दिनको समय दिएर संसदीय विशेष समिति बनाइएको छ । सो समितिको प्रतिवेदन आएर जनार्दन शर्मालाई क्लीन चिट दिएमा उनी अर्थमा फर्किन सक्ने पनि अनुमान गरिएको छ । त्यसैले सो प्रतिवेदन आउने समयसम्म नयाँ अर्थमन्त्री नबन्ने सम्भावना पनि उतिकै भएको माओवादी वृतमा चर्चा छ ।
कहिले सकिन्छ अर्थमन्त्री प्रकरणको छानबिन ?
बुधबार अर्थमन्त्री शर्माले राजीनामा गर्नुअफ्ही अर्थमन्त्री प्रकरणको छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाइएको हो ।
समितिलाई १० दिनको समय दिइएको छ भने ११ सदस्यहरुले नै समितिको संयोजक तोक्ने अधिकार दिइएको छ । समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्प भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्ने, सरला कुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव र लक्ष्मण प्रसाद कर्ण रहेका छन् ।
सहमति अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्सीय छानबिन समिति बनाइएको हो ।




