काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको आधारभूत सेयरधनीले नै हकप्रद सेयर खरिद गरेनन् । बैंकको ३८ लाख ५९ हजार कित्ता १९१ कित्ता हकप्रदलाई आवेदन नपरेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । बैंकका ठुला लगानीकर्ताले हकप्रदमा लगानी गर्न नचाहेको देखिएकाे छ ।
हकप्रद सेयर सोमबारदेखि बिक्री खुला भएको छ । बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । साे बैंककाे हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइजले वताएकाे छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ । हकप्रद निष्कासनपछि पनि बैंकको ९९ करोड रुपैयाँ चुक्तापुँजी नपुग्ने देखिएको छ । तोकिएको समयमा पुँजी नपुर्याउनेमा एनसीसी बैंक मात्र भएको छ ।




