नेकपा एसको नीति : सबैसँग सहकार्य गर्ने तर शरण नपर्ने, एमालेसँग शर्त

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धन बाहिरका दलहरूसँग पनि सहकार्यका लागि पहल अघि बढाउने भएको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकपछि बोल्दै उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग भने संवाद र एकताका लागि शर्तहरु अघि सारेको छ । केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले संवाद शुरु गर्नका लागि राजनीतिक र कानुनी रुपमा एमालेले आफ्नो पार्टीको अस्तित्व स्वीकार गर्नुपर्ने बताए ।

‘कानुनी र राजनीतिक रुपमा नेकपा एमालेले एकीकृत समाजवादीलाई राजनीतिक दलको संज्ञा दिँदैन र अस्तित्व स्वीकार गर्दैन । यस्तो बेलामा एमालेसँग कुनै संवाद हुँदैन,’ प्रवक्ता खतिवडाले भने, ‘एमालेले हामीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । त्यसलाई फिर्ता लिओस् र राजनीतिक दल हो भनेर मान्यता दिन्छ भन्ने निणर्य र अभिव्यक्ति आउनु पर्छ ।’

एमालेले आफूबाट विभाजित भएको एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन । एकीकृत समाजवादीलाई वैधानिक हैसियत दिने निणर्यविरुद्ध एमालेले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमाले विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको भन्दै एमालेले प्रतिनिधिलगायत ८ महिनासम्म अवरुद्ध गरेको थियो ।

‘कम्तीमा पनि राजनीतिक अस्तित्वको स्वीकार्यता नभई राजनीतिक सहकार्य सम्भव छैन । यतिखेर एमाले संवादको एजेन्डामा छैन,’ खतिवडाले भने । केन्द्रीय कमिटीको बैठकले आफ्नै पहलमा नयाँ गठबन्धनको परिस्थिति सिर्जना भएको निष्कर्ष निकालेको छ ।

खतिवडाले देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिको नयाँ ध्रुव सिर्जना हुने अवस्थामा रहेको बताएका छन् । यस्तै उनले आफ्नो पार्टी गठबन्धन बाहिरका दलहरुसँग पनि छलफलका लागि खुला रहेको बताएका छन् ।

‘हामी सबैसँग सहकार्य गर्छौं तर शरण पर्दैनौं । सहकार्य गर्न खुला छौं । सबैसँग छलफल खुला गर्नेछौं । पाँच दलीय गठबन्धन हाम्रो प्राथमिकता हो । तर पाँच दलभन्दा बाहिरका दलसँग पनि खुला छलफल गर्नेछौं । देशभक्त र वामपन्थीहरुसँग व्यापक सहकार्य चाहन्छौं । सबै राजनीतिक दल र व्यक्ति-व्यक्तिसँग समूह-समूहसँग भेट्न तयार छौं,’ खतिवडाले भने, ‘हाम्रो पहलमा देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको नयाँ ध्रुव पनि सिर्जना हुन्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । …

प्रतिकृया दिनुहॊस