काठमाडौँ । यदि तपाईँ आफ्नो गृह जिल्लाबाहिर बस्नुहुन्छ र मतदाता नामावलीमा आफ्नो नाम छुट्ने चिन्तामा हुनुहुन्छ भने निर्वाचन आयोगले निश्चिन्त हुनुहोस् ।
अब मतदाता नामावलीमा नाम दर्ता गराउनैका लागि मतदाताहरू आआफ्नो जिल्ला नै जानुपर्ने झन्झट मात्रै हटेको छैन, अनलाइनबाटै दर्ता गराउन सकिने भएको छ । असार १ गतेदेखि मतदाता नामावली दर्ता गराउन थालेको निर्वाचन आयोगले घरबाटै विवरण भर्न सकिने व्यवस्था गरेको हो ।
अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ । आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ ।
आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआरएस)मार्फत नामावली दर्ता भइरहेको छ । उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ । सफ्टवेयर सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउनेछ ।
मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध गराइनेछ । सो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ । सफ्टवेयरका लागि आयोगले करिब १७ लाख रुपियाँ खर्च गरेको छ ।




