सडक खन्दा कसौंडीमा भेटियो चाँदीका ५३७ वटा ऐतिहासिक सिक्का

काठमाडाैँ । दाङको तुलसीपुरमा सडकको ट्रयाक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौंडी पुराना र ऐतिहासिक चाँदीका सिक्का फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-४ सिमरा टोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्रयाक खोल्ने क्रममा डोजरका चालकले गएको बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले ५३७ वटा सिक्का फेला परेको जानकारी दिए । उनकाअनुसार ७६ वटा भारतीय सिक्का छन् भने ४६१ वटा सिक्कामा श्री ३ लेखिएको छ । सिक्कामा विसं १८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भेटिएका सिक्का सम्बन्धित निकायमा पठाउने प्रहरी निरीक्षक शाहीले बताए । फेला परेका सबै प्राचीन मुद्राहरु डोजरका चालक सुवासचन्द्र चौधरीले आफ्नो घरमा लगेर राखेको र अर्का चालक राजन खड्काले भागबण्डा नमिले पछि त्यो कुरा जग्गा धनी शोभा भण्डारीलाई भनेपछि गाडेको धन फेला परेको कुरा सार्वजनिक भएको हो ।

प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले ती सिक्काहरु घरमा लगेर धातुको कसौंडीको भाँडोबाट निकालेर छुट्टै एउटा पोलेथिनमा राखेको अवस्थामा फेला परेको हो । यी सबै सिक्काहरु झण्डै साढे दुई सय वर्ष पहिलेका हुन् । डोजर चालक चौधरीलाई प्रहरीले थुनामा राखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री