काठमाडौं । आज परम्परा अनुसार देश भर घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर नागपञ्चमी पर्व मनाइँदैछ । नागपञ्चमी पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।
धार्मिक विश्वास अनुसार नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने मान्यता छ ।
नागको पूजाले धनधान्य र सुख समृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्ति र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।
आज काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।
वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
प्रतिकृया दिनुहॊस