काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले एक हप्ताभित्रै नुवाकोटको सिसडोललाई दुर्गन्धमुक्त बनाउने बताएका छन् । शुक्रबार महानगरपालिकाको टोलीसहित सिसडोल पुग्नुभएका मेयर शाहले यस्तो बताएका हुन् ।
लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समस्या हल नभएपछि महानगरको नगरप्रमुख शाह र उपप्रमुख सुनिता डंगोलसहितको टोली अवलोकनका लागि शुक्रबार बिहान सिसडोल पुगेको थियो । सिसडोल पुगेको टोलीसँग स्थानीयले गुनासो पोखेका थिए । ‘सिसडोल क्षेत्रलाई हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था हुन्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ,’ प्रमुख शाहले भने ।
स्थानीयको समस्या र गुनासो सुनेपछि तत्काल आफूलाई काम गर्ने वातावरण मिलाइ दिन स्थानीय समुदायसँग नगरप्रमुख शाहले आग्रह गरे । ‘म कुनै पार्टीको मानिस होइन, काम गर्न आएको स्वतन्त्र व्यक्ति हो, मैले काम गर्न कसैसँग साँठगाँठ गर्नुपर्दैन, काम गर्न त दिनुपर्यो, काम गरेको चार दिन मात्र भएको छ,’ उनले भने, ‘काम गर्न दिएपछि मात्रै काम हुन्छ ।’
काम गर्नलाई सहजीकरण गरी दिनका लागि बिहीबारमात्रै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग छलफल गरेको पनि शाहले बताएका थिए । ‘काममा सहजीकरण गरी दिन भन्दै हिजो मात्रै गएर छलफल गरेको थिएँ, त्यसैले थाहा पाएँ, आज पनि विद्युत र खानेपानीको मानिसलाई बोलाएको छु,’ उनले भने ।
छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल भएको छ। केमिकल हालेर गन्ध हटाउन एक हप्ताको समय लाग्ने भन्दै उहाँले एक हप्तामा गन्ध नआउने बनाउन सकिने र केमिकल हाल्न आउने ट्रकलाई नरोक्न पनि स्थानीयवासीलाई आग्रह गरे ।




